Monday, September 10, 2007

सीताराम सर

'हंसमुख मान्छे' मैले यहि बिम्ब पाएकको छु, वहांको । हाम्रो पहिलो भेट त्यस्तो बिशेष होइन । तर भेट चाहिं त्यहीं मीना दिदीको पसलमा नै भएको हो ।
बजाजको नयां discover बाइक; उमेरले ४० नाघेका तर मन त्यसको छेउछाउ पनि नपुगेका; फुलेको कपालमा रातो मेहेन्दी ; दिनहुँ दाह्री काट्ने (दाह्रीमा मेहेन्दी लगाउन नमिलेकाले पनि हुन सक्छ); परम्परागत नेपाली जागिरे भुँडीको परम्परालाई 'सपोर्ट' गर्न नसकेका; चुरोटको सर्को सर्को आन्नदले तान्ने; जहिले पनि हाँसी रहेने; यी नै थिए मैले देखेका सीताराम सर ।

बैशाखको महिना थियो । एकदिन चिया गफमा वहांले आफ्नो नयां मोबाइल सेट देखाउनु भयो - 'nokia n70' । धेरै function भएर मलाई सोध्ने/सिक्ने हिसाबले देखाउनु भएको वा 'हेर ठिटा, मोबाइल त मेरो पनि stylish छ' भन्ने हिसाबले, म आज पनि भन्न सक्दिन ।

"बुढालाई data cable मा ठगेछ" मैले नदिएको प्रतिक्रिया यहि थियो, त्यो बेला ।

हामीले खाना खाने ठाउँबाट ३ किलोमिटर टाढा छ वहांको डेरा । पूर्व, पश्चिम, उत्तर वा दक्षिण कता हो म भन्न सक्दिन । २ चोटी सम्म सोधेको हो । याद छैन र अब सोध्न शिष्टाचारले दिदैन ।
मान्छे पाल्पाका हुन, त्यसैले खाना खाने ठाउँमा भाषाको झगडा हुन्थ्यो कहिलेकांहि अनि कहिलेकांहि टेलिफोनका गफ। हाम्रा दिनहरु यसरी नै बित्दै गए ।

महिना दिन जतिको संग्‌तमा थाहा हुदै गयो, मेलै देखेका 'हंसमुख' सीताराम सर मदिराको राम्रै सौखिन हुनुहुदो रहेछ । धेरै जसो सांझ मैले वहांलाई मातेको अवस्थामा नै देखे । रक्सी खाएर डेरा जान अफ्ठ्यारो हुने भएकोले सीताराम सर प्राय अफिसको गेष्टहाउसमा नै बस्नु हुन्थ्यो । वहांको खाना खाने समय पनि अनियमित हुन थाल्यो । दाह्री कटाइ पनि नियमित देखिन । किन किन मैले वहांलाई अलिक कालो देख्‌न थाले । त्यो मेरो दृष्टि भ्रम पनि हुन सक्छ । किटान गरेर भन्न सक्दिन ।

एक दिन मिना दिदीकी भान्जी आइन्, SLC सकेर । उमेर पनि लिएकि अनि ज्यान पनि । बोल्दा खासै लजाउने जस्तो लागेन । धेरै राम्री पनि होइनन्, नराम्री पनि होइनन् ।
भान्जी छोटो समयमा नै हाम्रो वातावरणमा राम्रोसंग घुलमिल भइन् । बिशेष गरि सीताराम सरसंग । अब मैले सरमा रसिक गुण पनि राम्रैसँग रहेछ भन्ने थाहा पांए । हुन त ४०/४२ बर्षको अनुभवीको अगाडि यो ठीटोले के नै पो अध्ययन गर्छ र!! तर पनि त्यो मेरो स्वतन्त्र अध्ययन थियो ।

सर उनलाई जिस्काउन छोडनुहुन्न थियो। उनि सरलाई भन्दा बढि सरको उमेरलाई कटाक्ष: गर्थिन् । खुब झगडा हुन्थ्यो ति दुईको । सर बेला बेला उनको फोटो खिच्नु हुन्थ्यो आफ्नो n70 ले, त्यो बेला उनि लजांउथिन् ।

एकदिन SLC को रिजल्ट भयो । भान्जी पास भइन्, second division मा । सीताराम सरको छोरा पनि distinction मा पास । छोरालाई भर्ना गर्न वहां घर जानु भयो ।

१५ दिन पछि हाम्रो भेट भयो । बढो खुसी देखिनु भएको थियो । नयां सर्ट, पालिस लगाएका जुत्ता, अनुहारमा राप थियो । घर गएर वहां फेरिनु भएको थियो ।

"सर मेरो छोरोले त distinction ल्यायो नि।"

यहि कुरा जानु अगाडि २ चोटि भनेका थिए बुढाले। कति पटक सुनाउनु पर्ने ? सधैं झैं फेरि आफ्नो percentage सम्झे । फेरि सोचे '१० कक्षाबाट मात्र प्रश्न सोधेकोले त हो नि' नत्र म पनि के कम ।

एकछिन पछि आफैलाई गालि गरे, किन compare गरे भनेर ! ग्लानि भयो, आफैसंग ।

"St. Xavier पढछु भन्दै थियो" बुढाको volume बढेको स्वरले म झसंङ्ग भए ।

"राम्रो नि सर, बरु entrance पो कहिले हो।" यति भन्दै थिए, सरले उत्तर फर्काउनु भयो ।

"टप १० मा त निकालि हाल्छ नि, 'मेरो छोरो' ले।" 'मेरो छोरो' को उच्चारणमा अलिक बल थियो ।

म हांसे मात्र ।

चिया आयो । यसपालि हाम्रो गफ लामो भयो। छोराको भविष्यको बारेमा मसंग पनि धेरै कुरा बुझ्नु भयो । एकदम उत्सुक र गहिरो भाव देखे मैले वहांको आंखामा जुन पहिले कहिले देखेको थिइन । खुसी लाग्यो । नेपाली बुवाहरु छोराको भविष्य प्रति संवेदनशिल छन। मैले जाने जति, बुझे जति कुराहरु भनिदिए ।

SLC को hangover ४/५ दिन सम्म रह्‌यो । सीताराम सरले रक्सी कम गर्नु भएको थियो । एकदिन मलाई ढिला भएको थियो, सरले मलाई डेरासम्म बाइकमा पुर्‌याइदिनु भयो । राम्रो लाग्यो । सीताराम सरलाई मैले मिजासिलो मान्छे भन्नु नै पर्छ । ती दिनहरुमा बर्षाले गर्दा बिराटनगरमा गर्मि कम थियो ।

SLC को रिजल्ट पछि भान्जी घर गएकी थिइन्, केहि दिनपछि उनी फेरि आइन् ।

दिनहरु बित्दै गए । अब सरलाई कम्प्युटर र मोबाइलको मोह बढ्‌न थाल्यो । अफिस समय पछि पनि सर अफिसमा नै बस्नु हुन्थ्यो, कम्प्युटर चलाएर । (अफिस, दिदीको पसल भएको घर भित्र छ। )

पसलमा पनि वहां कि भान्जीसंग जिस्किनुहुन्थ्यो कि मोबाइल चलाएर बस्नु हुन्थ्यो । पसलमा धेरै मान्छे नभएको बेला भान्जीको फोटो खिच्नु हुन्थ्यो । भान्जीलाई देखाउनु हुन्थ्यो । फोटो खिचाईमा भान्जी सधैं जस्तो राम्रो ननिकालेको भनेर complain गर्थिन्, । अनि सरले दांया बांया हेरेर उनलाई जिस्काउदै कुममा पिट्‌नु हुन्थ्यो। उनी रिसाउंथिन्, बुढा मन खोलेर हाँस्थे ।

एक साँझ, भान्जीको खुट्टाको नंङमा समस्या भएछ । दिदीले तातो तेल लगाउँदा ठिक हुन्छ भनेर तेल तताउनु भयो । उनी डराइन्, सीताराम सरले दिदीको पक्ष लिनुभयो ।

भान्जी बेन्चमा बसेकि थिइन्, सर उनको पछाडि । म अर्को टेबलमा थिए । दिदीले उनको खुट्टामा तेल हालिदिनु भयो । सरले बढो समयमा भान्जीको कम्मरमा चिमोटिदिनु भयो, सबैको आंखा लुकाएर । उनी ऐया गर्दै उफ्रिन् ।
दिदीले "यति जाबो तेल लगाउंदा पनि उफ्रिनुपर्छ" भनेर रिसाउनु भयो ।

"कस्तो पोल्यो!" भान्जीले स्पष्टिकरण दिइन् ।

" आ म त लगाउँदिन, यस्तालाई" दिदीले झर्को मान्नु भयो ।

"म लगाईदिउँ त?" सीताराम सर तम्सिनुभयो ।

"नपोल्ने गरि लगाउने भए मात्र" भान्जीले शर्त राखिन् ।

तेल दिएर दिदी तरकारी किन्न जानु भयो ।

देब्रे हातले पैतला तर्फबाट भान्जीको खुट्टा समात्नु भयो, सीताराम सरले । अनि दाहिने हातले औला सफा गरेर खुट्टा सुम्सुम्याउंदै बिस्तारै तेल हाल्नु भयो । भान्जीले सन्चो मानिन् ।

सरले "देख्यौ त?" भन्नु भयो ।

भान्जीले म तिर हेरिन, अफ्ठ्यायो मानिन्।

बाकि भएको चिया घुटुक्क पारेर म मेरो अवलोकन लुकाउँदै आफ्नो बाटो लागें ।

पछिका दिनहरुमा सरसंग खासै भेट भएन । सर अफिस पछि पनि कम्प्युटरमा नै बस्नु हुन्थ्यो । भान्जी चिया पुर्‌याउन जान्थिन् अनि त्यहि कम्प्युटरमा नै बस्थिन् । कहिले फोटो हेर्थिन त कहिले सरसंग झगडा गरेर बस्थिन् । सरको र मेरो खाना खाने बेलामा पनि भेट हुन गाह्रो हुन्थ्यो ।

एकदिनको कुरा हो । दिदीले भान्जीलाई आफुसंग राखेर क्याम्पस पढाउंदिन भन्नु भयो । " मान्छे, त्यसै त कुरा काट्छन" वहांको भनाई थियो । भान्जीको इच्छा यहिं बसेर पढने थियो । दिदी कडा हुनुभयो । भान्जीले मन गह्रौं गरिन्।

हप्ता दिन पछी भान्जी फर्किन्, आफ्नो घर ।

अचेल सीताराम सर कम्प्युटरमा खासै बस्नु हुन्न । जील्ला बिकासको मान्छे, बाढि पीडित कार्यक्रममा दिनभरि हिडनु हुन्छ । थकाइ मेट्टाउन सांझमा रक्सी स्वाभाविक हो । सरले छोरोलाई पोखरामा science पढाउनु भएछ । अचेल हाम्रो भेट दिनहुं हुन्छ । खाना सगैं नै खान्छौ । दिनै भेट हुंदा हाम्रो अभिवादन एउटै हुन्छ; हात उठाएर "गुड मर्निङ सर।"

हांस्न सीताराम सरले कहिल्यै छोडनु भएन ।

कुशे औंशी ०६४

बिराटनगर ।

[परिवेश र पात्र दैनिक जीवनको लिएको छु । तर मोडहरु, पात्रका भावनात्मक बहाबहरु र कर्महरु पूर्णरुपमा काल्पनिक हुन् । कसैको जीवनसंग सोझै जोख्न खोजीयो भने दुर्भाग्य हुनेछ]








6 comments:

gopal said...

Raajiv Sir Sitaram sir ko baarema raamro lekh lekhnu bhayechha.....Tara bhaanji bichari Gau nai farkin hai?

Dhruba said...

This is simply beautiful. You are growing. I envy your writing.

MprofIT said...

Excellent.great job. I am impressed.Enjoyed a lot. U write quality. Thanks for the post and I am already waiting for new one.

Kamal Raj Chapagain said...

Nepalma paisa kamaune dherai jagiree(bishesh gari sarkari)ko jeevan yestai ho.Sura ra sundari dui ta iniharuko din charya nai bhayo hoina ra? Bhanjii 2-4 mahina baseko bhaye ta pheri 8-9 mahina huna ke ber thiyo ra(??). Didiko ramro decision thiyo, janera hos ya anjaan ma.

Arko kahile padhne ta hamile?

pashupati said...

Good going yar. Bhanji kata gain sanchhikai bhan ta, photo cha bhane yesso pathana na yar???????

rajit said...

rajeev dai simply beautiful...tapainle sitaaram sir ko yatee meetho photo banayeedinu vako chha ki dhamilo chitra ta padhda padhdai baninchha..looks like the bp koirala show...magical touch......lekhna chahin nachhodnu hai..
fuche vai
rajit