Sunday, October 14, 2007

सिलिगुडि, मेरो तनाव र सुधा ।

काकडभिट्टाको पैसा सटहि काउन्टरमा दशैको नियमित भिड थियो । कति पैसा साट्ने त? घुम्न भनेर हिडेका थियौं हामी स्कुल देखिका साथी, रोशन, तिर्थ अनि म । मिल्यो भने एउटा माइक्रो वेभ ओभन ल्याउने विचार थियो मेरो । मैले ३ हजार भारु साटें । रोशन र तिर्थले २-२ हजार । मेरो अरु केहि चिज किन्ने सोच थिएन । सुधासँगको सल्लाह थियो, यसपालि को दशैमा फजुल खर्च नगर्ने ।
पुराना साथी; बल्ल बल्ल दशैमा भेट भएर बिना प्लान घुम्न हिडेका-सिलिगुडि । म बर्ष दिनपछि काठमाण्डौं बाट फर्केको थिएं । सुधाले रोकटोक गरिनन् ।
गर्मी नै थियो त्यो दिन । त्यो मेची पुल जांदा, ओरालोमा रिक्सामा आएको आनन्द । अहो बडो मीठास पूर्ण । म सुधासंग त्यो बाटो हिडेको थिंइन । एकचोटि उनलाई लिएर आउने मन भयो । मोबाइलमा 'टावर' फुल थियो । 'missed call' गरिदिए । बिहे भएको २ बर्ष नाघे पनि, हाम्रो प्रेम छेडछाड् यसरी नै चलेको थियो।
'पारि' को वातावाण नेपालको भन्दा फरक थियो । मलाई त हावा नै अर्को जस्तो लागेको थियो । सांघुरो बाटो, मान्छेको भिड । हामी सिलिगुडि जाने एक्सप्रेस बसको प्रतिक्षा गर्न थाल्यौ । खलासिले 'सिलिगुडि'-'सिलिगुडि'भनेर कराएको भन्दा इटहरि बसपार्कमा 'पूर्व-पूर्व' भनेर कराएको नै प्यारो लाग्यो ।


तिर्थ त्यो वातावरणमा बढी भिजेको थियो । यो बसमा जाऔं छिटो पुगिन्छ भन्यो । हामी उसको पछि लाग्यौं । बस लगभग खालि थियो । म र तिर्थ सगैं बस्यौं । रोशन एक्लै । बिस्तारै बसमा मान्छे बढ्दै गए ।
'मत्‌वालि' अनुहार गरेका २ वटि कलिला ठिटीहरु बसमा चढे । रोशनले आफ्नो सिटमा ठाँउ बनायो । सानी चाँहि आएर उ संग बसिन् । हामीले जिस्काउने बहाना पायौं ।
बस अगाडि बढ्यो । १-२ जना महिलाले आफ्नो सामान ड्राइभरको सिटमुनि राखे । कण्डक्टरले धेरै त राख्दिन भन्दै सामान मिलाइ दियो । केहि अगाडि पुलिसको चेकिङ थियो । ड्राइभरले सिट मुनिको सामान आफ्नो बतायो । बांकि जांच सकिएपछि गाडि अगाडि बढ्यो ।
सिलिगुडि पुग्दा सम्म गाडिमा यात्रुको भिड धेरै भएको थियो । जसो तसो हिलकार्ट रोड पुगियो । 'शहर त ठुलै हो' यसपाली पनि मेरो पुरानो प्रतिक्रिया दोहोरियो । यता उता डुल्न थालियो । गर्मि थियो तर पनि मतलब गरिएन । कहिले स्कुले बेला को छेडछाड त कहिले खेलकुदका गफ । सिलिगुडिको बजार अनि हाम्रो उधेश्य हिन भ्रमण । हामी अझै केटाकेटि नै थियौं ।
कता कता बाट कपडा लाइन मा पुगियो । रंग नै मन परेन । t-shirt हरु सबै बिहारी रंङमा। चाइनिज मार्केट पुगियो । भारतलाई पनि चाइनिज सामानले सिध्याएछ । हाम्रो निष्कर्ष बाझेन । घुम्दै जांदा I. Sc. मा bio group ki साथी भेटिइन् । श्रीमान र छोरोको साथमा । धेरै मोट्टाइछन्। तर मुहार उस्तै ।

मुसुक्क हासेर "सन्चै छ?" भनेर सोधे ।

" हो सन्चै छु। तिम्रो के छ नि?"

"मेरो पनि ठिक छ । सन्चै छु । दशैमा घुम्न त होला नि है?"

उनि मुस्काइन् । उनको मुस्कान मलाई कलेज पढ्दा पनि मन पर्थ्यो ।
उनले श्रीमान चिनाइनन् ।
उनलाई मेरा साथी चिनाउन जरुरि थिएन ।

ल त है भनेर हामी आफ्नो बाटो लाग्यौं ।

हिलकार्ट रोड मा उखुको जुस सस्तो रहेछ । जम्मा भारु ५ । २-२ गिलास खाइयो । तर त्यो उखु राखेको ठेलाको तल धेरै फोहोर थियो । अनि झिंगा पनि उत्ति नै । मैले जुस खांदा हिलकार्ट रोडको पारि पट्टिको ज्वेलरि दोकानमा हेर्दै खांए । फोहोर हेर्नै परेन ।
सुधाको रहर । माइक्रोवेभ ओभनको दाम बुझ्नु पर्‌यो । साथीहरुले दिक्क माने । मैले अलिक जिद गरे । ६-८ वटा पसल डुलियो । दशैंको भिड । मैले भाषा english नै प्रयोग गर्न खोजे । केहि मतलब गरेनन् दोकानदारले । दार्जिलिङका नेपालीले त नेपाली बोल्छन् भनेर नेपालीमा प्रयास गरें । दोकानदारले हेप्ने हिसाबले दाम राख्यो । रिस उठ्यो । मैले त्यो street को पसलहरुमा सोध्न मन गरिन। पछि तिर्थ र मैले एउटा राम्रो पसल फेला पार्‌यौं । राम्रो कुरा गर्यो त्यो दोकानदारले । कोक मगाएर खुवायो । कोक को सोझो गर्न लाई सामान जबर्जस्ति त किन्नु पर्ने होइन ?? कता कता मनमा चिसो पस्यो ।
"नेपाल बाट आउनु भएको?" उसले सोध्यो ।
"हो। " मैले अलिक ठुलो स्वरमा भने ।
"मेरो भाइको पसल बिराटनगरमा छ ।" उसले जसो तसो नेपालीमा भन्ने प्रयास गर्यो ।
"मेरो सालिको घर पनि काठमाण्डुमा हो । तर म नेपाल गएको छैन ।"
बात मीठा लागे उसका ।
मैले खोजे जस्तो ओभन पाइन । उसले आफै अर्को पसलमा खोज्यो तर पाइएन ।
"अहिलेलाई छैन। पछि पछि आउंदै गर्नुस।"
मान्छे भलादमि रहेछ ।
मेरो सिलिगुडि प्रति बनेको बिम्ब अलिक राम्रो भयो ।
अब कता जाने त?? कता कता!! भर्खर १ बजेको थियो ।
रोशनले "जाने त?" भन्यो ।
तिर्थले "खै " भन्यो।
मैले केहि कुरो बुझिन ।
तिर्थले "जांउ न त एकछिन घुमौं" भन्यो ।
रोशनले जाने भए जांउ भन्यो ।
मलाई केटाहरुको नियत ठिक लागेन ।
"के भनेको तिमीहरुले, फर्कने होईन?" मैले झर्केको स्वरमा भने ।
तिर्थले "केहि हुन्न यार, एकछिन घुमेर मात्र आउने हो" भन्न थाल्यो ।
रोशन पनि बिवाहित । "तंलाई, म तेस्तो काम गर्छु जस्तो लाग्यो? एकछिन घुम्ने अनि फर्कने।"
भनेर मलाई फकाउन थाल्यो ।
तिर्थले "हेर, केहि हुन्न, एसो घुमेर मात्र आउने । कसैले केहि गर्दैन । तं टेन्सन न लि ।" भन्दै हात तान्यो ।
म अस्समन्जस्य मा परें । काकडभिट्टामा नै थाहा भएको भए म शायदै सिलिगुडि आउँथे हुंला । तर त्यो बेला म उनिहरु संग छुट्टिन सकिन ।
३ जना नेपाली केटा । २ बिवाहित । सिलिगुडिको बदनाम बाटोमा गइयो । हामी तिनै जना सफा थियौं । नियत पनि खराब थिएन । सिलिगुडि आउँदा सम्म शायदै कसैले सोचेको थियो होला, त्यो बाटोमा हिडिन्छ भनेर । तर त्यो बेला हामी त्यहि बाटोमा हिडिरहेका थियौ । सत्य त्यहि थियो, उधेश्य जसको जे भए पनि । किन हाम्रो समाजका लोग्ने मान्छेको रुप यस्तो unpredictable हुन्छ ???????
बस्ति साधारण थियो । मोटरसाइकल, रिक्सा कुदिरहेकै थिए । बच्चाहरु खेलिरहेका थिए । मलाई प्रत्येक पाईला झन् झन् गह्रौं हुदै गइरहेका थिए । शायद रोशनलाई पनि अफ्ठ्यारो लागेको थियो होला। न बाध्यता, न बानी, न चाह, तर पनि हामी हिड्न सकिरहेकै थियौं । कस्तो बिडम्बना !!!
तिर्थ एउटा बस्ति भित्र पस्यो । हामी पछि पछि गयौ । एउटी अधबैसें नारी थिइन । उ घरको भित्र नै पुग्यो । सबै भन्दा पछाडि म थिए । टाउको निहुराएर उभिएको ।
"यहां एउटा नेपाली दाइ थियो नि" तिर्थले सोध्यो ।
"अहिले बाहिर गएको छ" उनलेले भनिन् ।
हेर्दा उनी बानेश्वर कि तरकारी बेच्ने साउनी जस्ति थिइन । सिंदुर पोते लगाएकि, परिचित झैं लाग्ने अनुहार । भाषा पुरै नेपाली ।
"अरु कोहि छैन?" तिर्थले सोध्यो ।
"भित्र छ, एकछिन है"
एकछिनमा २-३ वटि जवान केटिहरु आए ।
"मैले नेपाली खोजेको थिएं" तिर्थले भन्यो ।
"ए एएएए पार्वती !!" उनि कराइन ।
पार्वती आइन् । चाहिने भन्दा बढि रातो लिपिस्टिकका साथ ।
"यो त होइन, अर्को खोजेको "
"अरु त अहिले छैन । "
फेरि हामी तिर हेर्दै सोधिन, " यिनीहरुले हेर्दैन?"
"यिनीहरु त साथी मात्र आएको" तिर्थले स्पष्टयायो ।
" ल आजलाई जाने, पछि आउंला ।" तिर्थले बिदा माग्यो ।
मेरो सास आयो । रोशन र म जुरुक्क उठ्यौं । अनि सके सम्म भ्याए सम्म त्यहांबाट छिटो निस्कियौं ।
एक छिन पछि तिर्थ पनि आइपुग्यो ।
"उफ" मैले बाटोमा निस्केर लामो सास फेरें । रोशन हांस्यो । म केहि बोलिन ।
"देखिस, केहि हुन्न । अब एकै छिन घुमौं अनि फर्कने ।"
मैले स्पष्टरुपमा "हुदैन" भने ।
"केहि हुदैन क्या, अहिले केहि भयो? एकछिन त हो नि । जाऊँ हिड्" उसको कर थियो ।
मैले नांइ भने ।
रोशनले के सोच्यो । उसले "जाँउ न त एकछिन" भन्दा म छक्क परें ।
नाइ भने्। तर दुवै ले साह्रो कर गरेर मलाई फकाए । त्यो "केहि हुन्न" भन्ने शब्दले पनि मलाई डोहोर्‌यायो । "म के गर्छु के गर्दिन भन्ने कुरा मा म त स्पष्ट छु नि " यहि सोचेर म पनि उनिहरुको 'कर' ले डोहोरिए । यसपालि मेरा पाइला अलिक हलुका भए ।
अर्को ठाउंमा पनि त्यहि बार्ता, अलिक फरक ढंगमा । तर शैलि उहि । मलाई त्यहा बस्न मन लागेन । सकिन भनौं । उनिहरु कुरा गर्दै थिए । म बीचमा नै हिडिदिए । एक्लै फर्कदा मलाई त्यहांका केटिहरुले जिस्काए । म पछाडि नहेरि हिडिरहे । अनि पर बाटो पारिको किराना पसलमा चिसो पिएर बसे ।
मन त्यसै गुम्सिएको थियो ।
म आएको एकै छिनमा उनिहरु पनि आए, हांस्दै-हांस्दै ।
"किन हिडेको, क्या रमाइलो भयो भित्र?"
मलाई डर लाग्यो ।
"के गर्यो?"
"होईन त्यस्तो, के सोच्यो यसले फेरि?
दुइवटि केटि त इलाम का रहेछन् बुझिस्?"
देशका चेलि, मलाई नराम्रो लाग्यो। । केहि भनिन । तर, कस्ता थिए होलान भन्ने कौतुहलता नभएको भने पक्कै होइन ।
" अबेर भयो, जाँउ फर्केर ।" discuss नगरि मैले छोटो बाक्यमा प्रष्ट गरें ।
हामी सरासर फर्कियौं ।
गाडी चढियो । मैले आफ्नो ipod सुन्न थालें । झ्याल बाहिर हेर्दै बसे । उनिहरु दुईजना त्यहि अनुभवको काउकुतिमा रुमलिइरहे । उमेर संगै हाम्रो वैचारिक फाटो बढेको हो जस्तो अनुभव गरे । त्यसले मलाई शान्त हुन सहयोग गर्यो ।
रोशनले तिर्थलाई सोध्यो "तं पहिले पनि आएको थिइस?"
"थिइन"
"कसरि थाहा पाइस त त्यंहा नेपाली दाइ छ भनेर?"
"थुक्क साले, त्यति पनि थाहा पाइनस, त्यो त कुरा शुरु गर्ने बहाना पो हो त!!"
"एएएए" रोशनले ढिला बुझेछ ।
म मुसुक्क हांसी दिंए । तिर्थ बच्चै देखि बाठो हो । नियत त उसको पनि खराब होइन तर चन्चले चाँहि पक्कै हो । मेरो विचार उ प्रति नरम हुदै थियो ।
तर पनि मलाई आफैं देखि अफ्ठयारो भएको थियो । खासै बोल्न मन लागेन ।
बाटोमा मैले मेरी सुधालाई धेरै सम्झें । कतिबेला घर पुगेर उनलाई भेटौं जस्तो भयो । भ्रखर पानीटंकी आइपुगेको थियो । तिर्थले चिनी र दाल किन्यो । म किन्न गइन, मन पनि थिएन । उसैले ५ केजी दाल ल्याइदियो । मीठाइ हामीले दिउँसै सिलिगुडिमा किनेका थियौं । साथीहरु पानीटंकीमा चिया खाने भन्दै थिए । मैले 'पारी' काकड्भिट्टामा नै खाने जिद गरें । मेची पुल तर्दा मलाई किन किन फेरो त्यो ठाउँ आउँछु जस्तो लागेन ।
काकडभिट्टाको चियाले मेरो 'मुड' अलिक ठिक भएको थियो । तिर्थको घरबाट फोन आयो । भाउजुको फोटो रहेछ, कन्ट्याक्ट पिक्चरमा। मीठो बात गर्यो । १ घण्टामा घर आइपुग्छु भन्यो । रोशनले उसकी मायालुलाई sms पठायो ।
"बिहे गर्दैनस?" तिर्थले सोध्यो ।
"उनको बा मान्नु भयो भने आउने वैशाखमा" रोशन आशावादि थियो ।
मलाई घर पुग्न हतार लागेको थियो । माइक्रोमा थिंए, मोबाइल उठांए तर फोन गरिन् । सुधाले miss call गरिन् । मैले आउंदै छु भनेर sms पठांए ।
झ्यालबाट चिसो हावा पसेको थियो । नारायण गोपाल दाइ ipod मा गुन्गुनाउंदै थिए ।
" तिमीलाई भुल्दा म एक्लो परेछुं
तिमीलाई सम्झे तिमी साथ आयौं ।
कुनै चिज मीठो म खोजि रहेंथें,
म सोची रहेथें ; तिमी याद आयौं ।
तिमीलाई भुल्दा..................................."
मन हलुका भयो । मोबाइलमा सुधाको फोटो हेरें । बल्ल बल्ल दमक पुगिएको थियो । कुन बेला घर पुगौं भयो । म गीतमा नै डुबेछुं । बुढीखोलाको पुलमा माइक्रो उफ्रदां झसंङ्ग भएं । त्यो बीचमा मैले संसार सोचिसकेको थिंए ।
इटहरि, जुटबिकास अगाडि माइक्रो रोकियो । झोला लिएर म रिक्सामा बसें । मलाई मेरी सुधा संगको त्यो एक दिनको बिछोड युगौं जस्तो लागेको थियो ।
रिक्सालाई रु २० "तै" राख भनेर दिए अनि घर पुगें ।
उनी भान्सामा खाना बनाउंदै थिइन । झ्यालबाट मलाई हेरिन । बाहिर आँगनमा आमा 'तिहुंन' केलाउंदै हुनुनुन्थ्यो ।
"के ल्याएको?" आमाले सोध्नु भयो ।
"केहि ल्याइन । अलिकति दाल बोकेर आएं ।"
"लौ, अस्ति भर्खर फुपुकोबाट त्यति धेरै दाल आफै ल्याएको होइन?" आमाले गालि भन्नु भयो ।
त्यो दिन मलाई केहि कुराको होस रहेन ।
झोला राख्न भान्सामा गए । सुधालाई हेरि रहे । एकछिन हात समाएं ।
"के गरेको?" उनले दबेको स्वरमा भनिन् ।
"माया" मैले उनका आंखामा हेरेर भने ।
मलाई सुधा संग कुरा गर्न मन थियो । आमाले बोलाउनु भयो । भान्साको काम नसके सम्म मैले पर्खनु बाहेक बिकल्प थिएन ।
म आफ्नै कोठामा बसी रहें । दशैं आउन लागेको थियो । घरमा मान्छे आइरहेका थिए । तर मलाई कसै संग बोल्न मन लागेन । म कोठाबाट निस्किन ।
केहि कामको लागि सुधा कोठामा आएकी थिइन । मैले उनलाई मलिन आंखाले हेरि रहे ।
" के भयो, सन्चो छैन? "
मैले टाउको हल्लाए, छैन भन्नलाई ।
उनले मेरो निधार मा हात राखिन ।
"ज्वरो त छैन । के भयो?" उनले सोधिन् ।
मैले उनलाई हेरि मात्र रहें ।
सोफामा सिरानी लगेर राखिदिइन् । अनि टिभि खोलिदिइन् ।
"टिभि हेर्दै गर्नु, म छिटो काम सक्छु, तपाईं बस्दै गर्नु। है?" यति भनेर उनि गइन् ।
मलाई खास्सै खान मन थिएन, रुचेन पनि । उनि पनि खाना खाइ सकेर आइन् । मैले ल्याएको मीठाइ बोकेर ल्याएकि थिइन् ।
" खाना खानु भएन, यो खानु पर्छ है ।" उनले मीठो अनुरोध गरिन् ।
मैले यो राख न त्यहां भने। अनि उनको हात बाट लिएर आफैले राखिदिए ।
उनले मेरो कपाल मुसार्दै सोधिन, "के भयो आज?"
मलाई सहन गाह्रो भयो । उनलाई अंगालो हाले । आंसु आफैं बगे । सुधाले मेरो ढाड सुम्सुम्याइन् । उनका पनि आंखा सबै भिजेका थिए ।
"के भयो भन्नु न?"
म बोल्नै सकिन । उनलाई अंगालोमै राखें, कसेर ।
केहि बेर हामी दुवै चुप भयौं । उनले टाउको हल्लाएर के भयो भनेर सोधिन् । मैले सबिस्तार बतांए । दिनभरिका अनुभव र दौडिएका भावना । शायद श्रीमतीको महत्त्व मैले त्यो दिन गहिरो रुपमा बुझें ।
"यस्तो जाबो कुरामा पनि चित्त दुखाउने हो त?"
"खोइ, मलाई किन किन छट्पटि भयो। " मैले भनें ।
"मलाई तपाईं माथि विस्वास छ, अब देखि यस्तो सानो कुरामा चित्त नदुखाउनु" उनले मलाई सम्झाइन् ।
"तिम्रै लागि त बाँचेको छु "
उनले मेरो निधार चुमि दिइन् ।
मेरो तनाव सबै हट्यो । मैले त्यस्तो केहि सोचेको पनि होइन, गरेको पनि होइन । साथीहरु खराब पनि होइनन् । धेरै पछि भएको भेटघाटमा अल्लारेपन बोकेर घुम्न मात्र गएका थियौं । तर, कुन भावनाले मलाई त्यो दिन सहज हुन दिएन, मैले त्यो छुट्टयाउन नै सकिन । सुधा संग share गरेपछि मन आकाशमा पुगेको थियो ।
"खोइ त मेरो ओभन?" उनी जिस्काउने सुर मा थिइन् ।
म केहि बोलिन, अर्को पट्टी फर्केर बसें ।
उनी मिठाइको कचौरा बोकेर आइन्, फकाउँदै ।
मलाई धेरै भोक लागेको थियो। दुबै मिलेर खायौं ।
एकछिनको सन्नाटालाई तोडेर उनले भनिन् , "हामी अब सिलिगुडि कहिल्यै नजाने, है?"
नाइट ल्याम्पको मधुरो उज्यालोमा मैले सुधालाई झनै राम्री देखें ।
बिराटनगर,
०६४ दशैं ।

6 comments:

biddeshbhavana said...

I never knew you were married
But your blog is kinda straightforward and clear with some sprinkle of sense of humor. I am glad you write less so I like reading it too.

Happy dashain to you too. And abour marriage when did I miss that or did I know that you were married.....or is this just a storyline......take care

Rajendra said...

Biwaha Nabhaikana pani Timi ley ta biwahit ko feelings liyera lekhechau, es bata ma k bujdacchu bhane "U will be a good husband". Ramro ccha yaar, ra arko lekh chahi kathmandu mai bhayeko hunu parccha hai....

kaman said...

बिहे गरेको २ बर्ष भै सक्दा पनि हामीलाई केही थाहा पत्तो नदिने?
तिम्रो जिन्दगीमा आउने त्यो सुधा धेरै भाग्यमानी हुने छे।

rajit said...

rajeev dai u in ur own touch........fan of ur writting ........tara biha ma nabolakoma dukha lagyo ....sudha vaujulai mitho samjhana............hahahaha just kidding.......

khatri said...

Marvelous piece of writing, you's in nice touch of writing, keep it up, but sanchhikai bihema chanhi bolaunu ni!

Umesh said...

nice story.... my first question to myself was..... 2 barsa agadi bihe gari sakechha, thahai nadiyi kana :P haha.....
Mero pani Namaste "Sudha" vauju lai :)