Wednesday, February 6, 2008

म झापा छिट्टै आंउछु ।

फुच्चे भाई, आज म झापा जान पाउंदिन, अर्को दिन जाउंला । तिमी जाउ आज, ति चिया का बगानहरु र ति सुपाडिका अनि नरिवलका गाछिहरुलाई सम्झना सुनाईदिनु । गाईहरु लैना होलान घाँस, खोले दिदै गर्नु, म झापा छिट्टै आउँछु ।

त्यो दमकको टेलिफोन टावर अग्लो छ, गल्यो होला उभिदां उभिदां, एसो कांध सुम्सुम्याइदिनु । सगुन होटलको पराठा पुर्‌याइदिनु । सिसौहरु हुर्के होलान, हांगाहरु छिमलि दिनु ।

गौरादह, गौरिगन्ज, झिलझिले अनि लगाएका सिमलतरुल, घरतरुल अनि मेटाएका भोकहरु, सम्झंदै जानु । कन्काईको तिरमा दुई सिक्का चढाई दिनु, टाउको निहुराइ दिनु । आज नि कसैलाई जलाई रहेका होलान, दैवलाई सम्झनु । म झापा छिट्टै आउँछु ।

सुरुंङ्गा लक्ष्मीपुर, दुर्गापुरमा हावा चिसो होला, लामो सास लिएर जानु । बिरिङ्गले यसपालि पनि खेत बारि बगायो होला, । अलि रिसाहा छ, तिमीले भनेको मान्छ कि, फकाई फुलाई मनाईदिनु ।

बिर्तामोड अझै ब्यस्तहोला, हल्ला होला, किनमेल होला, कलकत्तेमा मिष्टान्न किन्दै जानु। पार्वतिलाई जुलबि मन पर्छ लिन नभुल्नु। धुलो होला शनिश्चरे को बाटो अनि अनन्पुर्ण चित्र मन्दिरमा फिलिम लागेको होला । मेरो लागि एउटा टिकट काट्दै गर्नु। म झापा छिट्टै आउँछु ।

बुट्टाबारि का बगानलाई हेर्दै गर्नु, हामी टोकला जानु पर्छ न भए पनि बुधबारे माथिको चिया बगानमा बसेर मकै र मोहि खाउँला । बाहुनडाँगिमा सुठुनि (सखरखण्ड) र काक्रा हरु फलेका होलान, मेरो लागि नि साँच्नु है म छिट्टै आँउछु ।

चारआलिका भक्काहरु र चन्द्रगढिका चटपटेहरु, छोलाहरु साह्रै मीठो लाग्छ मलाई । हटियामा ढु्ङ्ग्रि र प्याजि पाकेका होलान मेरो लागि चाख्दै गर्नु, । धुलाबारि को खरिद बाकि छ । लुगा राम्रो पाईन्छ , आमालाई साडी र भाईलाई जिन्स किन्नु छ । संगै जानु पर्छ , मलाई पर्खदै गर्नु । म झापा छिट्टै आँउछु ।

सनपाटका खेतिहरु, केराका बगानहरु, तामुल लपेटने पानका पातहरु, बैशंका हाँसोहरु, मारेका बात हरु, गएका गोठालाहरु, गाएका गीतहरु, चराएका गाइहरु, बाख्राहरु, बोलाई रहनु म छिट्टै झापा आउँछु।

उडेका भगेराहरु, सिकेका साईकलहरु, फुटाएका डल्ला हरु अनि खोजेका धानका सिलाहरु । सबैलाई बोलाईदिनु । माघे संक्रान्तिका तिलका लड्डु र बनाएका चाकुहरु, मेरो भाग पनि राखि दिनु । फुलेका तोरी र फिलुंङ्गेहरु, पाकेका कटहर र मेवाहरुलाई यो दाईको खबर सुनाउदै गर है फुच्चे भाई । काकडभिट्टाकि कान्छि चिया बनाउँदै होलिन, बुधकरणको रंग हाल्न लाउनु । म झापा छिट्टै आउँछु।


अनि मेरो बुढो भद्रपुर, अझै मेचि किनारमा भैसि चराउँदै ड्डा लिएर देशको सिमाना रुघिरहेको होला, । एक चिलिम खैनि मोलेर दिनु, चुना हालेर । मेची आफ्नै हो, दाजु भाई पौडिनु पर्छ । हात समाएर जंङघे पिलर सम्म दौडिनु पर्छ । म झापा छिट्टै आउँछु । म झापा छिट्टै आउँछु।।

0 comments: